Sunday, April 29, 2018

जेनी

झुकी रहने आँखा तिम्रो
चिउँडो उठाई पढुं जस्तो
कपाल पन्छाई नयन भरि
डुबी रहुँ सँधै जस्तो ।

तिम्रो भाषा तिम्रो बोली
नुबुझे नि सुनु जस्तो
दुई चार शब्द तिम्रो ओठको
फुत्त टिपी राखूँ जस्तो ।

सुखि तिमी खुशी तिमी
मैले देख्दा राम्रो जस्तो
माया मेरो न चाहिए नि
तिम्लाई सँधै दि रहूँ जस्तो ।

Friday, April 6, 2018

पिकनिक

एका बिहानै 
मोर्निङ्ग वाकबाट फर्कंदा 
सानी कि आमा 
ह्स्याङ्ग र फ़स्याङ्ग गर्दै 
कतै हिड्न लागेको देखेर सोधेको :
"कता हो सानि कि आमा एका बिहानै आज?"
"पिकनिक हिंडेको माईखोला 
तीस जना भएम आईमाई 
एक दिन भए नि 
घरको काम र 
लोग्नेको करकरबाट मुक्ति पाइने
छोरा छोरी चेपेर हिंडियो दाई।" भनेर हिंडेको 
राति सुत्दा 
श्रीमतीले 
काम गर्ने केटीले सुनाएको भन्दै 
पिकनिकको कुरा सुनाऊँदा थाहा पाएँ 
सानि कि आमा 
भोड्काको नशामा 
झल्लू भएर 
मारुनी नाचेकि 
माईखोलाको बगरमा 
--------------------------
पिकनिक खाने बेला 
यतिखेर माईखोला बगरमा 
टाढा टाढा बाट 
पिकनिक खान आउनेहरुको 
भीड लागेको हुन्छ 
भलाद्मी र हुल्याहा 
दुबैको हूल हुन्छ 
त्यै भिडको 
एक हिस्सा हुन पुगेकी सानि कि आमा 
र उनका आईमाई आईमाईको हूल 
भोड्काको  नशामा 
लोग्नेको कर कर मेटछ 
माईखोला बगरको 
मारुनी नाचमा 
स्वतन्त्र अभिव्यक्ति भेट्छ 
म भने पलंगबाट श्रीमतीलाई हेर्दै प्रश्न राख्छु :
"हैन यो 
स्वास्निहरुको जीत हो कि 
करकरे लोग्नेहरुको हार?"
================= 

मैले हारेर पनि जित्न जानेको छु

तिमीले निष्फिक्री आऊँदा हुन्छ 
मैले हारेर पनि जित्न जानेको छु ।

स्वागत छ तिम्रो निर्दयी बेगलाई 
म त पैले देखिनै यी लामा घाँसहरु जस्तो 
झुकेर लमतन्न परि दि सकेको छु तिम्रो सामु।

स्वागत छ तिम्रो कर्कश प्रबाहलाई 
म त पैले देखिनै यी बग्दै गरेका मुढाहरु जस्तो 
अप्रतिकार आफुलाई बगाई दि सकेको छु तिम्रो भेलमा।

स्वागत छ तिम्रो अविवेकी शक्तिलाई 
म त पैले देखिनै गाग्रोबाट छछल्केर 
भूँईमा झरेको पानी जस्तो छताछुल्ल 
अस्तित्व बिहिन भै दि सकेको छु तिम्रो सामु ।

मैले हारेर पनि जित्न जानेको छु ।

सुन ए !
मलाई मारेर युद्ध जित्न चाहनेहरु 
म त पैले देखिनै मरि दि सकेको छु ।
मलाई उछिनेर अघि बढ्न खोज्नेहरु 
म त पैले देखिनै पराजित भै दि सकेको छु ।
बस्तिबाट मलाई पर हुत्याउन खोज्नेहरु 
म त पैले देखिनै गाउँबाट बाहिरी दि सकेको छु ।

मैले हारेर पनि जित्न जानेको छु ।     
=====================

 

Wednesday, March 28, 2018

म तिमी नै हो

म तिमी नै हो
अलिकती तिमीसित
वायु लिएको छु
अलिकती तिमिसित
पानी लिएको छु
अलिकति तिमीसित
भोजन लिएको छु
अलिकती तिमीसित
विचार लिएको छु
अलिकती तिमीसित
भावना लिएको छु
साँचै भन्नुपर्दा
मैले लिएको पनि हैन
तिमीले आँफै दिएका हौ
यै विचारले म अनि
आफु भित्र खोज्न थाल्छु
मेरो के छ त् ?
मेरो के हो त् ?
शून्य आउँछ हातमा
सबै अरु बाटै पाएको छु
त्यसैले भन्छु
तिमी छौ र त म छु
म नै पनि कसरि भनु
तिम्रो नै सबै भएपछि
उपयुक्त यै होला भन्नु
तिमी नै हो म पनि
वा म तिमी नै हो
=========== 

Wednesday, March 21, 2018

यो सेतु हो

यसपाली लक्ष्मी पूजामा
घरमा रङ्ग लाउनु पर्ने।
छोरी पनि ठुली भइ
कुटुम्ब खोज्नु पर्ने।
छोराको ईन्जिनियरङ्ग सकेको कुरा
बैदारनी बजै खसेको कुरा
घरमा पूजा लाउने भए पछि
आफन्त र छरछिमेकीहरुले
दुना टपरी र बत्ती काट्न सघाउन आउँदा
गर्ने यस्ता कुरा हुन
वा,
टोलका साथी भाइ सित
टोलको मुख्य भेला हुने ठाउँमा
गर्मीको बेला
बेलुकी पख
यसपाली जाड़ोमा
बनभोज कहाँ जाने
यसपाली तिहारमा
देंउसी भैलो कसरी मनाउने भन्ने करा हुन
झट्ट सुन्दा
गन्थने कुराहरु जस्तो लाग्ला
तर यस्ले
सम्बन्ध जोड्ने काम गरेको हुन्छ।
परिवार र समाज,
थेग्ने काम गरेको हुन्छ
यस्ले दुई मनलाई जोड़ेको हुन्छ।
यो तुइन हो
यो मन देखि मन सम्मको सेतु हो।
===================

तिरस्कारलाई गीतको शब्द दिने छु

मर्मले
चोटले
तिरस्कारले
मान्छे जिउँदै
चाना चानामा परिणत भएको देखेको छु।
निकै मै हुँ भन्नेहरु पनि अन्तत:
फत्रक्क भुइँमा गिरेको देखेको छु।
म छताछुल्ल हुन दिन्न
म विखण्डित भएर छरपस्ट हुन दिन्न
म खण्ड खण्डमा विभाजित हुन दिन्न
म यसै मेरो मूल्यवान जीवन
तिम्रो कटु शब्दहरुको शिकार हुन दिन्न
तिम्रो भक्षण प्रवृत्ति को आहार हुन दिन्न।
केही नलागे
म मर्मलाई कविताको कुलेसो दिने छु
चोटलाई कथाको पात्र दिने छु
तिरस्कारलाई गीतको शब्द दिने छु।

Monday, May 1, 2017

एक दिन यात्रामा

एक दिन
सानो यात्रामा
संगै हिंडियो
भला कुसारी गरियो
दालमा नुन कम लागेको कुरा भो
अस्ति भुटेको करेला
मिठो भा’को चर्चा भो।

अलिकति देवकी दिदीको कुरा भो
उनको व्यवहार नमिलेको चर्चा भो
आफ्नोपन नदेखिएको कुरा भो
नयाँ बुहारी ल्याएपछि
भेटघाट गराउन ल्याउनुपर्ने हो
नल्याएपछि अब सम्बन्ध
पातलिने हो कि भन्ने चर्चा भो।

कपटीपनले ग्रसित
हाम्रा कान्छ बा का
छोरा बुहारी र तिनका छोराछोरीहरु।
फाइदा हुनेछैन भने
आफ्नो कुरा छिरिक्क नचुहाउने।
अलिकति उनिहरूको
घोसेपनको कुरा भो।

कपाल जिङरिङ्ग देखियो
पुछार काटेर मिलाउनु पर्ने
राति अनुहारमा लाउने क्रिम
सकिन थालेको छ किन्नु  पर्ने
अलिकति उनको श्रृङ्गारको कुरा भो।
अनि अलिकति
मेरो कविता र त्यसका पात्रहरुको चर्चा भो

एक दिन हाम्रो सानो यात्रामा
यसरी नै माया पिरतीको कुरा भो
यसरी नै माया पिरती साटियो।
----------0---------0----------














Saturday, April 15, 2017

जीत

तिम्रो भाषाले
बोलीले
आँखा भरिको तिम्रो
अङ्गीकार र स्विकृतीले,
तिम्रो सल्लाह र छलफल गर्ने
अनि आफ्नालाई तिम्रो
साथ र उपस्थिती को
वोध गराउने बानिले,
न घोच्ने
न होच्याउने
न लुकाउने
न ह्वाङ्ग पार्ने बानिले,
न दुख्दा रोएको छ
न थाक्दा छोड़ेको छ
जीवन जे जस्तो छ
त्यसलाई
मुस्कान भरि समेटेको छ
गीत भरि पोखेको छ
साउनको झरीमा
रूझ्न नि तयार
गृष्मको पसिनामा
नुहाउन नि तयार
पानीको बेग सितै
तिमी बहन चाहने
बतासले उडाएको पात झैं
तिमी बाँच्न चाहने
तिम्रो प्रतिकारबिहीन
बानिले
यो मन जित्यो
श्रद्धा जित्यो
साँच्चै भन्छु
यो जिन्दगी जित्यो
--------0-------0--------









तिमी त यतै म सितै रह्यौ

तिमीलाई मन भरि राखेर
अस्ति नै मन शान्त भा’को बेला
शब्दहरु सुस्तरी केलाउँदै जोड्दै जाँदा
तिमी कविता भएर निस्केथ्यौ।

अनि फेरि एक दिन बेलुकी पख
निलो आकाशमुनि
पोखरीको डिलमा बसेर
बतास सित सुसेली मार्दा
तेस्को आवाजमा तिमी
गीत भएर निस्केथ्यौ।

मालती,
हिंजो त हो
घर पूर्वका डिलहरुमा
हामिले मिलेर लाएको
सयपत्री फुलेको देख्दा
तिम्रो सम्झनाले
मनै बटारियो।
उज्यालो दिन पनि
असामयिक रुपमा
कालो रात भयो
अनि ठिक त्यै बेला
तिमी आँखाभरी
टिलपिलाउँदै
तल गालामा टक्क अडिएर
मलाई हेरेथ्यौ।

ताराले भन्दै थि
तिमी भाइको बिहेमा
पर्सि गाउँ आउने रे
एक बर्ष भो नदेखेको तिमीलाई
ताराको यो समाचार पछि
म तिम्रो बारेमा
सोच्न मात्रै के थालेको थिएँ
तिमी त हर्षका रेखा भएर
ओंठ भरि सुटुक्क टुपुल्कियौ।

मालती,
जीउ पो तिम्रो म देखि टाढियो
तिमी त यतै म सितै छुट्यौ
तिमी त यतै म सितै रह्यौ।

के हो मेरो

न धर्ती मेरो 
न आकाश नै
न यी बीच बुर्कुसी मार्ने
पवन र जूनका किरण नै

न यो गाँऊ मेरो
न गाँऊ छेउको घर नै
न यो पोखरी मेरो
न पोखरी डिलको
वरपिपल नै

न यो परालको टाल मेरो
न टाल राख्ने बारी नै
न यो सिसौको बोट मेरो
न आँगन नजिक रहेको
लतामको बोट नै

न चना उमार्ने चौमास मेरो
न चौमास जाने आली नै
न गाई गोठ र गाईवस्तु मेरो
न घर बाहिर उभिएको
प्यारो निमको बोट नै

न मन मेरो
न भावना
न रिस मेरो
न संयमता
न अहंकार मेरो
न विनम्रता
न बुद्धि मेरो
न विवेकहिनता
न ईर्ष्या मेरो
न प्रसन्नता
न करुणा मेरो
न क्रुरता
न क्षमा मेरो
न उदन्डता

न जन्म मेरो
न मृत्यु नै
न यो शरीर मेरो
न अस्तु नै
न म जन्मदाको आवाज मेरो
न म अस्ताएपछिको
निस्तब्धता नै।
------0------0------





कैले न आउने

कैले न आउने
भेट्न कैले न आउने
भन्दा भन्दा थाकिसके
बानि न जाने सानिको
भेट्न न आउने।

बोली मिठो सानिको
सुनि रहुँ लाग्ने हो
आई हाल्छु नि भेट्न भन्छे
टहरामा भेट्न गयो
घण्टौ बित्दा नि सानि
भेट्न न आउने
भन्दा भन्दा थाकिसके
बानि न जाने सानिको
भेट्न न आउने।

रिसाएँकि म भनि
कान नि समात्छे
ईशारैमा भोली भेट्ने
कुरा बताउँछे
मख्ख हुँदै टहरामा
म फेरि दिन बिताउँछु
सानि आउने खुशीमा
गीत गुनगुनाउँछु
भोली पनि मेरो हात
पुर्पुरो मै हुन्छः
“फेरि आज सानि
कहाँ मरिछ?
भात खाएर बार्दलीमा
टन्न सुतिछ
अल्छीको भाँडो
यस्को बानि
कैले न जानेे
भन्दा भन्दा थाकिसके
बानि न जाने सानिको
भेट्न न आउने।”
--------0-------0---------


Friday, April 14, 2017

यात्रा र हेराई

कतिले अझै नेपाल सड़क मा सिर्फ
बुङ्गबुङ्गती उड्ने धुवाँ र धुलो देख्लान
खाल्डा र खुल्डीहरु देख्लान
मैले चावहिल गल्ली कि बुढि आमा र
उनले सड़क किनार
बिक्री मा राखेकि
डोको भरिको
हरियो ताजा रायोमा
उनको जाँगर र मेहनत देखेको छु।

कतिले अझै नेपाल सड़क मा सिर्फ
गाड़ी र मान्छेको भीड़ अनि
सड़कमा फ्याँकिएको फोहर देख्लान
मैले चुच्चेपाटीको पेटीमा
ड्याम्म पलेटी कसेर
बिक्री को लागी
रूवोको को बत्ति काट्दै गरेको आमाको हातमा
शिप र लगन देखेको छु।

समय,
मलाई अब आइफल टावर र
सिड्नी ब्रिज घुम्ने मोह रहेन
मेरो यात्राले अब
नेपालको राजमार्ग छिछोलोस
मेरो कविताको लागि
नेपाली लगन र शिप बटुलोस।
-----------0----------0------------







मन्जूर छ

दिनेले पूर्ण सम्भावना
नदिएको हैन जस्तो लाग्दैन मलाई
सम्भावना अटुट शान्तिको
म मा छैन भन्ने लाग्दैन मलाई
दिनेले कन्जुस्याईं गरेको
पटक्कै लागेको छैन मलाई
त्यसैले,
कुनै गुनासो छैन मेरो उ प्रति
कुनै बिरोध छैन मेरो उ प्रति
बस्
मेरो अब्यक्त सम्भावनाको गाँठो खोल्न
नियतिले बेला बेला रच्ने गरेको ब्युह
सारै कष्टकारी भैदिन्छ
हलचल ल्याईदिन्छ जीवनमा
मन छताछुल्ल पारिदिन्छ
मर्नु न बाँच्नुको दोसाँधमा
यस्ले ल्याएर उभ्याईदिन्छ
कैले केहि बेर
कैले केहि दिनका लागि ।
फेरि सोच्छु,
यै हलचलको प्रतिफल त हो
सगरमाथा पनि चुलिएको
अटलताको प्रतिक।
कहीं म भित्रको समुद्र मन्थन पनि
अटल शान्तिको सगरमाथा चुलिनु अघिको
प्रक्रिया त हैन?
हो भने,
मलाई चोट मन्जूर छ
हलचल मन्जूर  छ
छताछुल्ल मन्जूर छ
मेरो जीवनको समुन्द्र मन्थन
मलाई सहर्ष मन्जूर छ।
----------0---------0-----------